शुक्रबार राति इजरायली हवाई आक्रमणले दक्षिण लेबनानलाई निरन्तर लक्षित गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ। लेबनानी सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार आक्रमणले संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) अन्तर्गतको नेपाली बटालियनको ब्यारेकमा पनि प्रहार गरेको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले जनाएअनुसार, इजरायली आक्रमणले इस्लामिक हेल्थ अथोरिटी र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित संयुक्त आपतकालीन केन्द्रलाई प्रत्यक्ष लक्ष्य बनाउँदा दुई जना उद्धारकर्मीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
नाबातिये शहरको अल-राहिबात क्षेत्रमा एक घरमा इजरायली युद्धविमानले आक्रमण गर्दा एक बालिका सहित छ जनाको मृत्यु भएको छ। दक्षिणी सीमा शहर बिन्त ज्बेलमा भएको अर्को आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने तटीय शहर घाजियेमा भएको आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको छ।